Thursday, May 27, 2021

मनोवाद : बाटो आत्महत्याको



स्थान :  काठमाण्डौं, डिल्लीबजार स्थित डेरा

समय : साँझको बजे

पात्र : रोहित नेपाल

 

(रोहित एक समलिंगी पुरुष हुन। उनी नाटकिय प्रस्तुतिमा पारङ्गत छन। टेलिभिजनमा कलाकारको रुपमा काम पनि गर्छन। सदा झैँ कामबाट फर्किदै गर्दा उनको एकजना पुराना साथीसंग बाटोमा जम्काभेट हुन्छ। भेटपछि दुख मनाउ गर्दै आफ्नो डेरामा पुग्छन्र मनमा अनेक कुरा खेलाउँदै छन्। )

भगवान्ले मलाई कुन जन्मको सजाय देका होलान ? (हातको मोबाइल ओछ्यानतिर फाल्दैमेरो शारीरिक बनावट मेरो भावना फरक छन्भनेर मलाइ किन सबैले होच्याएर, नराम्रो शब्दमा उल्ल्याउछन्?

के मेरो भावना चाहिँ भावना हैन ? मेरो इच्छा चाहिँ इच्छा हैन ? मैले अरुलाई देखाउनको लागि जबरजस्ती केटा कै व्यहोरा देखाउने पर्छ भन्ने कतै ? मैले बिराएको चै के छु ? (एकछिन निशब्द हुन्छन। आफ्ना यि अनेक प्रश्नहरुको उत्तर खोज्छन्तर पाउदैनन्। टाउकोमा हात राख्छन। भक्लक्क उत्तानो परेर पल्टिन्छन्। )

 

जन्मिँदा घर, परिवार अनि समाजका मान्छे खुसि थिए रे त। मेरा बा ले भोज नै खुवाएका थिए रे। सबैको माया पाएको मैले आज किन सबैको छि छि दुर दुर पाइरहेको छु ? मैले सानामा दिदीको गाजल, लिपस्टिक अनि टिका लुकी लुकी एक्लै हुदा लगाउँदा सबैले कत्ति नक्कल गर्न जानेको ? कती राम्रो क्युट देखेको , भोलि पर्सि त कलाकार नै बन्छ यो केटो भनेर वाह वाह गर्नेलेनै आज मलाइ किन हेप्छन्? किन देखि डराउँदै हिड्छन्?

आज कलाकार पनि बने आफ्नो खुट्टामा पनि उभिएको छु। पढाई पनि पुरा गरे। तर आज मैले त्यहि केटि मान्छेको नाटक गर्दा अनि मैले वास्तविक रुपमा केटीले गर्ने बानि व्यहोरा देखाउँदा किन मेरा आफ्नै नजिकका मान्न्छेले मन पराउँदैनन ? कम्तिमा मेरो घर, साथीभाई अनि आफन्तले मन पारिदिनु , उहाँहरुले नै घृणित रुपले मलाई किन हेर्छन ?

 

मलाई केटि बन्न मन लाग्छ, मलाई केटा नै पर्छ अनि केटा प्रति नै आकर्षित हुन्छु मेरो के दोष ? मेरो भित्रि मन ले नै त्यहि भन्छ के गरौँ? (लामो सास फेर्छन ) मैले केटिको जस्तो हर्कत गरे भनेर मलाई समाजलेछक्का”, “हिजडाअनि के के के के ट्याग लगाइदियो। हुन  आफ्नै घर परिवार बाट साथ सहयोग नपाएको अभागी ले अरु बाट के सम्मान आदर पाउँला र। यहि कारणले घर छाडे समाज छाडे सबैबाट टाढिए

 

आज कलाकार भए धेरैले चिन्छन मलाई तर मेरो समाज अनि आफन्तले किन चिन्न सकेको छैन मलाई ? मा किन घर परिवार अनि समाज बाट लखेटिए ? मैले के गल्ती गरेँ? हुँदा हुँदा आज आफ्नै साथी, जसलाई आत्मिय मान्थे उसले पनि मलाई मन दुखायो। मलाई उसले आजरोहित पुरै छक्का नै भएछस , अब देखि डराउनु पर्ने भयो, तैले बलात्कार गर्दिस भने मेरो इज्जत सबै लुटिन्छ हाहाहा......... “ किन भनेको होला ? अब साच्चै सबैको लागि हाँसोको पात्र नै बनेको हँु ?

 

मलाई बुझिदिने नजिकको मान्छे को होला यो संसारमा अब ? कतिन्जेल यसरि दबाबमा रहेर, आफ्नो भावना  मनलाई मारेर केटाको बानि व्यहोरा देखाँउदै हिड्नु ? खै मेरो स्वतन्त्रता ? मेरा यी हजारौ प्रश्नहरुको खै उत्तरकसले दिन सक्छ यी जवाफ ?

 

(मोबाइलमा फेसबुकको नोटिपिÞmकेसन कोटिङ्ग घन्टी बज्छ हेर्छन। स्क्रिनमा देख्छन उनको आजै भर्खर भेटेको साथीले राखेको स्टाटसधन्न आज मेरो केटाद्वारा नै बलात्कार भएन ........ हाहाहाह.........उनलाई झन पिडा हुन्छ रुन्छन डाँको छोड्छन टाउको बजार्छन अब बाच्नुको अर्थ छैन कति यसरि सहेर बाँच्नु यस्तो दबाब अनि घृणा सहनु भन्दा मरेकै बेस उनमा अब आत्महत्याको कुभाव जागेर आउछ किन हो किन उनी डोरी खोज्न थाल्छन )


ग्रामीण परिवेशमा महामारी व्यवस्थापन

 

वर्तमान  समयमा  देश  कोरोनाको दोस्रो चरणको महामारीबाट आक्रान्त भइरहेको छ।  महामारीले कुनै एक मात्र भूगोललाई नभई देशका हरेक कुनालाई अछुतो राखेको छैन। यस्तो विषम परिस्थितिमा स्वास्थ्य संस्थामा शय्याको अभाव, अक्सिजनको अभाव र अन्य स्वास्थ्यका स्रोत र साधनहरुको अभाव भइरहेको कुरा त सर्वविदितै छ।  अहिले संक्रमितहरु घरमै आइसोलेसनमा बसेर कोरोनालाई पराजित गर्न बाध्य छन्। होम आइसोलेसनका पनि आफ्नै नियम अनि दायराहरु छन्। ति दायराभित्र रहन नसकेमा संक्रमण झन्  फैलने र कठिन परिस्थिति सिर्जना गर्छ भन्ने कुरामा दुई मत छैन। होम आइसोलेसनमा बस्नको लागि आवश्यक स्रोत र साधनको पहुँच भएको ठाउँमा त खासै कठिनाई पनि नपर्ला।  

एकचोटी नेपालको भूगोल अनुसारको मानिसको स्ट्याण्डर्ड अफ लिभिङ्ग पनि हेरौं त ! पक्कै पनि सुविधा सम्पन्न शहर र ग्रामिण क्षेत्र बिचमा निकै अन्तर देख्न सकिन्छ। भूगोल अनुसारको मानिसको रहनसहन, बिचार र दैनिकी फरक फरक हुनु स्वाभाविक पनि हो।  

पहिलो चरणको महामारीले त ग्रामिण क्षेत्रमा त खासै प्रभाव पारेको नदेखिएतापनि अहिलेको दोस्रो चरणले भने चोखो राख्न सकेको छैन।  

मेरो आफ्नो घर पनि गाउँले परिवेशमा नै भएर पनि नजिकै बाटै गाउँका यथास्थितिलाई नियाल्न पाएको छु।  

अब कुरा गरौँ नेपालका ग्रामीण भेगको अहिलेको अवस्था र महामारी व्यवस्थापनमा भएका प्रयासहरु। 

एकपटक सोचौं त, जहाँ सिंगो परिवारको लागि  २–३ कोठाको सानो घर हुन्छ, खानेपानीको लागि धारामा घन्टौं लाइनमा बस्नु पर्छ, जहाँ अझ अज्ञानताले ढाकिरहेको छ, दैनिक गुजारा टार्नको लागि खेतबारी, वस्तुभाउ अनि मेलापातको भर पर्नु पर्छ त्यहाँ महामारी फैलिए होम आइसोलेसन कतिको सम्भव र प्रभावकारी होला ? 

स्थानीय सरकारले परीक्षणको लागि पहल गरे पनि लक्षण देखिएपछि मात्र परीक्षण गरे हुन्छ भन्ने मानसिकता अझै देखिछ। लक्ष्यण देखिएपछि मात्र परीक्षण गरिन्छ र रिपोर्ट ५–७ दिन पछि मात्र आउछ। अब आफैं ठम्याई गरौँ त  त्यो अन्तरालमा पानि–पँधेरो, मेला–पात गर्दा, एउटै भान्छा प्रयोग गर्दा कति संक्रमण फैलन्छ होला ? 

देशकै राजधानी काठमाडौंबाट करिब ७० किमी दुरीमा रहेको मेरो गाउँमा त रिपोर्ट आउन ५–७ दिन कुर्नु पर्छ भने टाढाका अझ दुर्गम गाउँको हालत के छ होला ? 

संक्रमण पुष्टि भएका मानिसहरुलाई होम आइसोलेसनमा बस्न पनि कठिनाइ र चुनौति छ।  सानो घर जहाँ पर्याप्त कोठाहरुको अभाव छ, जहाँ दीर्घरोगी वृद्ध अभिभावकदेखि साना नानिबाबुहरु छन्, त्यहाँ आइसोलेसनको व्यवस्था गर्न  पनि गाह्रो नै छ। ‘आइसोलेसनको लागि म घर छेउको एउटा खालि जस्ताको छानाको भएको घरमा बसें। जेठको यो उखरमाउलो गर्मीमा १५ दिन बस्दा गर्मीले पो झण्डै उल्टै मरिएन,’ मेरा एक जना संक्रमित मित्रले दुखेसो पोखे।  

यता मानिसहरुमा पनि अझ बुझाई र ज्ञानको पनि कमि देखिन्छ। ‘गाउँमा संक्रमण देखिन थालेपनि बिहे, भोज भतेर भने हुन छाडेको छैन। माक्स लगाउदा सास फेर्न गारो भयो भन्दै मास्क नलगाइएको अवस्था छ। रुघा खोकी लागीरहेको हो। आउछ, जान्छ भन्दै ख्यालठट्टाको रुपमा लियिरहेको अवस्था छ। फेरि छिमेकीले छि छि र दुर दुर गर्छन कि भनेर पनि परीक्षण गर्न मान्दैनन्, परीक्षण गरिहाले पनि रिपोर्ट आउन १ हप्ता लाग्छ। अवस्था भने विकराल हुँदै गैरहेको छ तर गाउँका मानिसहरुमा भने अझै चेतना आएको छैन’ मेरा काभ्रेपलाञ्चोकका एक मित्रले फोनमा बताए।  

'संक्रमण भएर आइसोलेसनमा यो बेलामा १५ दिन बसें भने मैले बर्षभरी हातमुख जोर्न पाउँदिन। मैले सकीनसकी भए पनि दैनिक काम त गर्नै पर्छ।  म केहि नगरिकन बस्न पनि सक्दिन।  मेरो लागि यो आइसोलेसन सम्भब पनि छैन' एकजना कृषकले भने।   

के राष्ट्रिय नीति, रणनीति ले यी कुराहरुलाई पनि सम्बोधन गरेको छ त ? 
यो यथार्थचित्र हेर्दा पनि महामारी रोकथाम र नियन्त्रण गर्नका लागि सम्बन्धित निकायहरु शहर केन्द्रित  भएको देखिन्छन्। सुचना प्रवाह, स्वास्थ्य शिक्षा र परीक्षणको दायरा शहरमै बढाइएको देखिन्छ।  कतै हामीले ग्रामिण भूगोललाइ बिर्सेका त छैनौं? 

ग्रामिण क्षेत्रका यो अप्ठेरा, कठिनाइ, अज्ञानता अनि चुनौतीहरुलाई पनि अब सम्बोधन गर्न सके मात्र महामारीलाई केही हदसम्म परास्त गर्न सकिन्छ भन्दा फरक नपर्ला।

स्थानीय सरकारले महामारी व्यस्वस्थापनको लागि प्रयास गरिरहेता पनि अझ स्थानीय सरकारलाई मजबुत बनाउनु पर्ने भने देखिन्छ।  

(स्वास्थ्य खबर पत्रिका मा प्रकाशित, शुक्रबार, जेठ १४, २०७८ ) 

Wednesday, May 12, 2021

हल्लुडो खोज्दै छु




संझिदा पनि रमाइलो लागेर आउछ 

ति दिनहरु .........

रातभरी मोबाइलको स्क्रिनमा लेखिएका ति शब्दहरु 

सिरकमुनी लुकेर च्याट गर्दै मुस्कुराइएका ति पलहरु 

मोबाइलको चार्ज सकिदा मल्टिप्लग्को छेवैमा गएर मेसेज पठाएका यादहरु 


कसरि बिर्सेला मेरो दिमागले यी चित्रहरु ? 


तिमि त भन्छौ प्लिज भुलिदेउ ति दिनहरु 

तर ति दिनहरु मेरो जीवनमा ल्याइदिने तिमि नै त थियौ, 

SO.. SWT OF YOU… भन्दै मलाई मक्ख पारिदिने तिमि नै त हौ 

मेरो मन र मष्तिष्कमा माया भन्ने शब्दलाइ परिभाषित गरिदिने तिमि नै त थियौ 


थाहा छ ? मलाई त तिम्रो बानि परिसकेछ, 

मलाई तिम्रो हासोको लत लागिसकेछ 


अब भन त म कसरि छुटाउ मेरो ति लत अनि बानीहरु ? 


गाउँमा  असार साउनको मेलो सकिदा 

खेतका सबै गराहरुमा धान रोपिसकिदा  

हलिदाइले हलो र जुवालाई छुटाउन पाउदा 

खुब उत्सब मनाउथे 

उफ़, अब त जोत्न परेन .....


तर आज तिमि र मा छुटिदा किन उत्सब छैन ?

तिमि र मलाई जोड्ने हल्लुडो के ले छुटाइदियो ? 

मेरो योग्यताले ? 

मेरो रुपरंगले ? 

मेरो जात अनि समाजले ? 

मेरो गाउले परिवेश या मेरो रित्तो गोजिले ? 


ल भन त अब मैले भोलि देखि के नगर्ने ? 

फोन ? 

फोन त मा नगरुला तिमीलाई तर मेरो बुढि औलाको टुप्पोलाई कण्ठस्थ छ तिम्रो नम्बरहरु 

यदि मलाई नै थाहा नदिकन मेरो औलाले तिम्रो नम्बर थिचेर कल गरे भने मैले के गर्ने ? 


भैगो, मा मेसेज पनि नगरुला तिमीलाई 

यसै पनि मैले पठाएका शब्दहरु तिम्रो मोबाइलले बुझ्ने छैन 

यदि बुझ्थ्यो त मैले छातीमा राखेर लेखेर पठाएका शब्द तिमीले पढ्दा तिम्रो स्क्रिन आसुले भिज्द्थ्यो होला 


ल म फेसबुक मेसेन्जर भाइबर सबै अन्स्ट्ल गरिदिउला 

तर मेरो मनले मलाइ नै थाहै नदिकन मेसेज गर्यो भने म के गर्ने ? 


समय त गैसको फर्किदैन भन्छौ तिमि, 

तर समय नफर्किए पनि मान्छे त फर्किन सक्छ 

तिमीलाई थाहा छ ? म अझै हामीलाई जोड्ने त्यहि पुरानो  हरायको हल्लुडो खोज्दै हिडिरहेको छु।  






Thursday, February 11, 2021

तमासा हेर्दै छु


मन नलागि नलागि आज फेरी गजल लेख्दै छु 

मिलन पछिको विछोडको तमासा हेर्दै छु । 


नुन मसाला मिलेर पाक्न लागेको तरकारी 

नुन एकातिर मसाला अर्कातिर फाटेको देख्दै छु । 


आफ्नै देशमा मैले कोरेका रङ्गिन सपनालाई 

टिपेक्स अनी इरेजरले घोटी घोटी मेट्दै छु । 


स्वतन्त्र अनि शान्त ति मेरा आफ्नै गोरेटोमा 

होहल्ला अनि ताम्झाम गर्ने जमात भेट्दै छु । 


स्वदेशमा बातावरण नभा हो कि आफुले नदेख्या हो 

आफुले आँफैलाई आजकाल त परदेश तिरै ठेल्दै छु । 

Thursday, December 31, 2020

कोरोना सँगै बढेको अशान्ती

 


सुन्दर देश हाम्रो यो नेपाल बुद्धको थलो हो 

शान्तीको सन्देश विश्वमै लाने हाम्रो नै पालो हो ।  

जीवनको यात्रा जङ्घार थुप्रै तर्न नै बाँकी छ 

डरभर छैन संघर्श गर्न ईतिहास साक्षी छ ।  


सहज छैन वर्तमान अहिले कोरोना कहरमा 

हातमा हात मिलाई खुशीले देश बनाउन रहरमा ।  

मस्तिस्क भित्र मानीस हुन्छ दैवको वरदान 

पाएका हामी बनाऔ धर्ती फुलको उध्यान ।  


मन रुन्छ साह्रै दिनदिनै मेरो समाचार सुन्दामा 

मानवको जुनी के सार्थक छ र मानवता भुल्दामा ।  

नसाको लतमा चुर्लुम्म डुबे विबेक गुम्दछ 

शरीर गल्छ, सत्यता मर्छ,अशान्ती घुम्दछ ।  


घिन लाग्छ अहो ! तोड्फोड र हिंसा  सुन्दैमा यी शब्द 

के भनी सुझाउ के भनी बुझाउ भए म निशब्द ।  

हे ! मानव जगत प्यारा नेपाली विश्वमै शान छ 

मानवता सम्झ सेवामा लाग तिम्रो नै  मान छ ।  


बिषम स्थिती कोरोना सँगै बढेको हिँसाले 

मेरो यो समाज कता जादै छ कुन्नी यो हिसाबले ।  

कसरी आउछ तिम्रो यस्तो सोच खुलेर भनन 

बनाउ मन झन फराकिलो समाधान खोजन ।  


चट्टान भित्र लुकेको सुन त्यसै त पाइन्न 

सकारात्मक सोच नराखे सम्म सफल भइन्न ।  

साथीभाइ तिम्रो प्रियजनको साथ लिन नछोड 

देखेका सपना पछ्छ्यौन लाग बाटोलाई नमोड ।  


अशान्ति  रहित मानव समाज सबलाई चिनाऔ 

सद्भाव राखौ एकअर्कामा आउ हात मिलाऔ ।  

घर, परिवार, समाज र राष्ट्र माया सहितको 

बन्छ नि पक्कै यो बातावरण डरभर रहितको ।  


फुल्दछ गुरास पहरा पाखा  ढुङ्गाले घेरेनी 

मुस्कान देउ मुहारमा सन्ताप ले बेरेनी ।  

उज्यालो जीवन बनोस तिम्रो हसिलो रसिलो 

खुशीको दिप बालेर बनोस झुपडि चम्किलो ।  

Friday, November 27, 2020

उसको मानसिक स्वस्थता


जीवनका दूई दसक पार गर्दै गर्दा 

देख्नेहरुको नजरमा शहरिया ह्यान्डसम ऊ 

शुगठित शरीर, उज्यालो मुहार 

शहरको बसाई ले परिबर्तित रहन सहन उसको 

धेरै पेशाको आवश्यकताले पनि होला 

दारी मिलाउछ , चट्ट पर्छ 

सधै अत्तर छरेर निस्कन्छ 

तर ब्यक्त गर्दैन उसका मन भित्र गुम्सिएका भावहरु 

समय समयमा उसले विद्यालय जिबनमा पढेको 

विश्व स्वास्थ्य संगठनले दिएको 

स्वास्थ्यको परिभाषा सम्झन्छ  

नियाल्छ आफु भित्रका मानसिक, सम्वेगात्मक अनि सामाजिक  स्वास्थ्य 

ऊ खोज्छ 

देख्दैन 

भेट्दैन 

अह ! कहिँ देख्दैन 

ब्यस्त दैनिकी, पढाई भन्दा फरक काम, र  विविध तनाव

बिद्यार्थी जीवनका परीक्षा, प्रोजेक्ट, कोठाभाडा, कलेज फि जस्ता आवश्यकताले थिचिएको उसले 

 रमाइलो गर्ने रहरहरुको घाटी पटक पटक थिचेको छ 

बाढीले लगेका खेतको कुरा 

पहिरोले लगेको बारीको कुरा,  

बाले सुनाएका बालीविहिन कृषिका बिलौनाहरु सुनेर धेरै रात आफ्नो आखा पुछेको छ 

दु:ख उडाउन भनेर आजकाल त धुवा पनि उडाउन थालेको छ

तर उडेको छैन उसको  पिडा 

उसको  वेदना 

उसको वैराग्यपना 


मन मनै भन्छ ऊ : 

म बाहिर देखिए झै स्वस्थ छैन 

मलाई पनि तनाबविहिन हुन मन नलागेको होइन 

जिउन मन छ  मलाई हासी खुसि

 बाच्न मन छ 

ऊ चाहन्छ कोहि होस जसले उसको अन्तर्मनको भाव बुझोस 

उत्प्रेरणा दिवोस  

आफ्ना सफलता उन्नति प्रगतिका कुरा संगै उसलाई नि सुनोस उसको छेवैमा बसेर ऊ भित्र गुम्सिएका व्यथाहरु

ताकी उसले फेरी फेरी यसरि केहि गुम्साउनु नपरोस


फेरी, 

समस्या नभएको मान्छे को नै पो छ  र 

दुख नभई सुख सधै मिल्ने कहाँ हो र ?

भनिदिए उसले पनि त आफ्नो मनको व्यथा 

आफ्ना आफ्नै सबैका छन संघर्षका कथा 

साच्चै नै ..... 

बाड्दा चिन्ता साट्दा पिर हल्का हुञ्छ मन 

नबाधेर मनका बह सबै खुलाई भन 

पहिल्याउ समस्याका समाधानका शुत्र 

हासी खुसि कोर तिमी जिबनको चित्र

भावनात्मक बुद्धिमता ले भर जीवन 

खुल्ला बनाइ आफ्नो अन्तर्मन । 



Friday, November 13, 2020

तिहार

 



आयो तिहार झिलिमिलि पार्दै सबको घरदैलोमा 

नाच्न थाले बाल देखि वृृद्ध सब देउसी र भैलोमा ।


दिदि आइन् माइति घर, भाई आयो सहर बाट

भेट भयो क्या शूभ दिनमा सब दुखसुख साट ।

सेलरोटी अनि मिठामिठा कुरा टन्न्ौ बोकि ल्याएकी

भाईलाइ देखी मुसुमुसु हासी ति दिदि मख्खिएकी ।

 

निकै उल्लास अनि उमङ्ग छायो त्यही घरमा तसै

मन छ एक्दम उदास सबको रमाई खेल्दै यसै ।

सिंगार्न थाले घरआँगन सब फुलको गुच्छा ऊन्दै 

कोैसीमा घाम ताप्दै छिन आमै देउसीको गित सुन्दै।


मखमली माला सप्तरङ्गी टीका तयार गरिकन 

फोरिन् ओखर दैलोमा राखी यमराजको बाटो छेक्न । 

दिदि र भाई खुसिले गदगद रमाइकन यसै

दियो दक्षिणा, उपहार दिदिलाइ पाउमा परी तसै ।


खुसिले मनाउ तिहार सबले यहि मेरो चाहना 

शूभ दिपावली २०७७  सालको छ शूभकामना ।  


Where My Heart Remains

There, my people, my mountains, my communities buried beneath glacier and debris. Here, I am far away, but my heart is not here. My eyes flo...